राजनीति

एमाले एकताका लागि दुई दिनको समय

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर माधव पक्षले गल्ती गरेपनि ओलीले मुख्य नेतालाई अपमान गरेरएकता गर्न खोजे कार्यकर्ता भड्किने भन्दै एकता पूर्ण नहुने बताए ।



काडमााडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वालुवाटारमा बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएन् ।बैठकमा माधव पक्ष सहभागी नभएपनि अध्यक्ष ओलीले माधव पक्षलाई दुईदिन भित्र हस्ताक्षर फिर्ताको निर्देशन दिएका छन् । जसमा बैठकमा सहभागि एमाले उपाध्यक्ष बामदेव गौतमले भने आपत्ति जनाएका छन् ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काएको घोषणापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा बोलाएको बैठकमा बामदेव गौतम आकर्षणको केन्द्र बने । यसअघि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालका कुनै भेला र बैठकमा सहभागी नभएका उनी दुबैलाई दोषी करार गर्दै एकतामा लाग्न आग्रह गरिरहेका थिए । तर शुक्रबार ओलीले बोलाएको बैठकमा उपस्थित भएका गौतमले अब पार्टीमा फर्किसकेकाले एकतामा लाग्ने र त्यसको जिम्मा आफुलाई दिन ओलीलाई आग्रह गरे । तर माधव नेपाल विहिन तरिकाले एकता गर्न खोजे राम्रो नहुने चेतावनी पनि संगसंगै दिए ।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर माधव पक्षले गल्ती गरेपनि ओलीले मुख्य नेतालाई अपमान गरेरएकता गर्न खोजे कार्यकर्ता भड्किने भन्दै एकता पूर्ण नहुने बताए ।जवाफमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउन नेपाल पक्ष लागिपरेको भन्दैसंसदीय अभ्यास र दलीय अनुशासन उल्लंघन भएको बताए ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माधव नेपाल पक्षका २३ नेताले दुईदिनभित्र हस्ताक्षर फिर्ता नगरे एकता नहुने चेतावनी दिएका छन् ।सोमबार साँझसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्न ओलीले निर्देशन दिए लगत्तै त्यसको प्रतिवाद गरेका गौतमले निर्देशन खारेजको माग गरेका छन् ।तर ओली पछि हट्ने मनस्थितिमा छैनन् ।

एमाले एकताका लागि ओलीले माधव पक्षलाई हस्ताक्षर फिर्ताको दबाव दिइरहेका छन् ।त्यसबारे यसअघि एकता वार्तामा सहभागी माधव पक्ष सहमत भएको छैन ।अदालतलाई प्रभावित पार्न नहुने, तर फैसलापछि एमाले एक ठाउँमा उभिनुपर्ने मत राख्दै आएको माधव पक्षले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने अडान राख्दै आएको छ ।त्यसबाहेक ओलीले दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि त्यसलाई जालझेल र अल्मल्याउने षड्यन्त्रका रुपमा बुझेको माधव पक्षले दुबैको सहमतिले नवौं महाधिवेशन कमिटीको बैठक बसेर बाँकी निर्णय गर्नुपर्ने माग राख्दै आएको छ ।

एकलौटी तरिकाले बोलाइएको बैठकमा सहभागि नहुने भन्दै शुक्रबारको बैठकमा अनुपस्थित रहेको माधव पक्षलाई प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा उपस्थित हुन निम्तो दिएका छन् । तर शनिबार पनि माधव पक्ष सहभागी हुने छाँट देखिएको छैन ।एकताका लागि कटिबद्ध रहेको बताउने तर फरक पार्टीको अभ्यासमा गएका दुबै पक्ष अहिले ‘हलो अड्काउने गोरु चड्काउने’नीतिमा अघि बढेका छन् । यसले दुबै पक्ष एकताका लागि संवेदनशिल छन् वा कार्यकर्ता झुक्याउने फण्डामात्रै गरिरहेका छन् भन्ने प्रश्न उब्जीएको छ ।