राजनीति

एमाले बैठक : दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर आज (शुक्रबार) बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ ।

बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

तर यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।

स्रोतका अनुसार, अध्यक्ष ओलीकै निर्देशनमा यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुन लागेको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्दै आएको छ । यो समूहले अदालतको फैसला अनुसार एमाले २ जेठ २०७५ अगाडि फर्कनुपर्ने अडान राख्दै आएको छ ।