राजनीति

प्रतिनिधिसभा विघटन मुद्दा : सरकार पक्षको बहस आज सकिँदै


काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट आज बहस सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् ।

उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ। त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ ।

शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस शुरु हुनेछ । सभामुखको तर्फबाट बहसका लागी सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।