समाचार

बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?, मुसुमुसु हाँस्दै कालभैरव !


काठमाडौँ – आज म तपाईंहरूलाई कालभैरवको कथा सुनाउँछु । हनुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला । काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ ।

कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ । त्यसमाथि यसको शारीरिक हाउभाउ नै भयंकर ।

घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कुल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला ! कान, नाडी र पाउमा पहिरिएको सर्पको आभूषण हेर्नुस् न, कम्ता भयंकर छ !

यिनको त हातै छवटा — कुनै हातले खड्ग, ढाल, त्रिशूलजस्ता अस्त्रशस्त्र उठाएका छन्, कुनैमा भर्खरै वध गरिएका तीनवटा मान्छेको टाउको झुन्ड्याएका छन्, त्यो पनि कपाल समातेर । बीचको एउटा हात विन्दुमुद्रामा दर्शनार्थीहरूतिर फर्किएको छ ।

शिरको मुकुटमा धरि चारवटा खप्पर र एउटा नरमुण्डको गहना भिरेका छन् । यी सबैभन्दा उग्र र डरलाग्दा छन्, यिनका ठूल्ठूला आँखा र आगोको लप्का उठेझैं देखिने राता आँखीभुइँ, जहाँ हेरिरह्यो भने ज्वालामुखी दन्केझैं लाग्छ ।

कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ– भैरव त माथिल्लो लहरका सेता दाँत टिलिक्क टल्काएर मुसुमुसु हाँसी पो रहेका छन् !

कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् ।

‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ टेक्नु हुँदैन भन्ने विश्वास रहँदै आएको पाइन्छ ।

यस बाहेक काठमाडौं उपत्यकामा मुसलमान राजाको आक्रमण हुँदा बौद्ध चैत्य, गुम्बा र ग्रन्थहरू नष्ट गरिएका थिए । त्यति बेला थुप्रै चैत्यलाई आक्रमणबाट जोगाउन चुनाको ढिस्को बनाएर छोपिएको थियो । यसरी छोपिएका चैत्य उपत्यकामा थुप्रै भेटिन्छन् ।

‘त्यही क्रममा महत्वपूर्ण बौद्ध ग्रन्थ र ऐतिहासिक थ्यासफूःहरू नष्ट हुनबाट जोगाउन कालभैरवको मूर्तिपछाडि गाडिएका थिए भन्ने मान्यता पनि रहदै आएको छ । यही कारणले पनि यस्तै जनश्रुति वा भनाईहरु सुन्दै आनएका बूढापाकाहरू अहिले पनि त्यसमाथि टेक्दैनन् र यहाँ टेक्नुलाई पाप ठान्दै आइरहेका छन् ।