देश

एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु, चालकले भागेर ज्यान जोगाए


काठमाडौँ – कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको ज्यान गएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालकले भागेर ज्यान जोगाएका थिए । बिरामीको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।