देश

यातायात व्यवसायीले तीनको म्याद सार्याे


काठमाडौँ – यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका सार्वजनिक सवारी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका हुन् । कोभिडको अवस्था हेरेर सोमबारदेखि जोरबिजोर नगरी सबै किसिमका गाडी चलाउने नेपाल यातायात मजदुर संघले जनाएको छ । आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुर, तीवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

यातायात व्यवसायीका अनुसार कोभिड संक्रमण अहिलेको भन्दा नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्ने सहमति भएको छ । संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय हुनेछ । कोरोना भाइसरबारे प्रचारप्रसार गर्नुपर्नेछ । मजदुरले मास्क र फेससिल्ड लगाउनु पर्नेछ । गाडीको ढोकामा स्यानीटाइजर राखेको हुनुपर्नेछ । यात्रुले मास्क लगाउनु पर्नेछ र खुद्रा पैसा बोकेर मात्र गाडी चढ्नु पर्नेछ । अनुगमनका क्रममा मापदण्ड नअपनाएको भेटिए प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।