राजनीति

वरिष्ठ अधिवक्ता नेपालको प्रश्न ; विपक्षी दलको समर्थनमा सरकार कति दिनसम्म चल्छ ?


काठमाडौँ —वरिष्ठ अधिवक्ता महेश नेपालले विपक्षी दलका सांसदले समर्थन गरेको सरकार कति दिन टिक्न सक्छ भनेर संवैधानिक इजलासमा प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मुद्दा लडिरहेका नेपालले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला गर्दा इजलासले विपक्षी दलका सांसदले समर्थन गरेको सरकारको अवधिबारे मनन गर्नुपर्ने बताएका हुन् ।

बिहीबारको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता नेपालको प्रश्न थियो, ‘विपक्षी दलको नेतालाई समर्थन गरेर गठन भएको सरकार कतिदिनसम्म चल्न सक्छ ?’

सरकारले समर्थन लिने क्रममा संसद्मा ह्वीप लाग्ने र त्यो ह्वीप उल्लंघन गरिए सांसदहरूलाई कारबाही हुने भन्दै वरिष्ठ अधिवक्ता नेपालले त्यसबारे पहिल्यै मनन गर्नुपर्ने बताएका हुन् । नेपालको संंविधानमा निर्दलीयताको व्यवस्था नरहेको उल्लेख गर्दै टाउको गन्न छोडेर दलीय व्यवस्थाको आधारमा समर्थन गर्नु पर्ने र यसैको आधारमा बहस हुनुपर्ने धारणा अधिवक्ता नेपालले राखेका थिए ।

सरकार गठनको आधार समान नीति तथा कार्यक्रम, दृष्टिकोण हुनुपर्ने तर विपक्षीकाको समर्थनमा बनेको सरकार कसरी दिगो हुन्छ भन्ने उनको प्रश्न थियो । त्यस्तै, शेरबहादुर देउवा लगायत १ सय ४६ सांसदले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी नबनाइएकाले परमादेश जारी हुन नसक्ने उनको तर्क थियो ।