राजनीति

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । स्रोतका अनुसार भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले त्यसबारे संकेत गरेका थिए ।
नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।

यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो । ‘अहिलेसम्म राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने गरिएको छ,’ एक राष्ट्रिय सभा सदस्यले भने, ‘एकल सदनलाई मात्र सम्बोधन गर्न लागेको यो पहिलो अभ्यास हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि जेठ ८ गते भण्डारीले विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा नभएकोले राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्न लागेको बताइएको छ । यद्यपि यो अभ्यास भने पहिलो पटक भएकोले दलहरुले पत्र प्राप्त भएपछि मात्र प्रतिक्रिया दिने बताएका छन् ।