राजनीति

लुम्बिनीमा सत्ता परिवर्तनको चर्चासँगै सांसद विमला वली ‘बेपत्ता’


काठमाडौँ – लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वली शुक्रबार रातिबाट सम्पर्कविहीन भएकी छन् । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरू पालो गरिगरी सम्पर्कविहीन हुने घटनालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

शुक्रबार अपरान्हसम्म बुटवलको नयाँ गाउँस्थित आफ्नै डेरामा रहेकी सांसद वली बेलुका ८ बजेतिरबाट सम्पर्कविहीन भएको प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताए । रातिको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयलाई उदृत गर्दै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षड्यन्त्र सफल नहुने बताए ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रतर्फ सार्वजनिक भएकी थिइन् । प्रदेश सभा सदस्य ढेंगा सम्पर्कविहीन हुदाँ प्रहरी प्रशासनमा खोजी गरिदिन निवेदन परेको थियो तर यस पटक भने कुनै उजुरी नपरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुवँरले बताए ।

उनलाई मुख्यमन्त्री पोखरेलको पार्टी एमालेले प्रलोभनमा पारेको हुनसक्ने आशंका माओवादी केन्द्रका नेताले गरेका छन्।

यसअघि पनि लुम्बिनीकै सांसद पुर्मती ढेंगा सम्पर्कविहीन भई पछि भेटिएकी थिइन् । जनता समाजवादी पार्टीकी नेता उनलाई एमालेले नै लोभ देखाएर लुकाएको आरोप लगाइएको थियो ।