राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने


काडमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद् बैठक बिजनेसविहीन बनेको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसद्मा प्रवेश गरेका छैनन् । सदनमा पेश भएर अड्किएका कुनै पनि विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने काम भएको छैन ।

संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पनि पठाइएको छैन । संघीय संसद सचिवालयका अनुसार अहिले संसदमा ५५ वटा विधेयकहरु छन् । तीमध्ये प्रतिनिधिसभामा ३० र राष्ट्रियसभामा २५ वटा छन् । दर्ता र सांसदहरुलाई छलफलका लागि वितरण मात्रै भएका विधेयकको संख्या १७ रहेको छ । सभामा पेश भएर रहेको विधेयक २० वटा छन् भने १५ वटा विधेयक संसदीय समितिमा छलफलको क्रममा छन् । पुनःस्थापित प्रतिनिधिसभाको साउन ३ गते पहिलो बैठक बसेको थियो । त्यसयता साउन ८ र १२ गते बसेका बैठक पनि समान्य कार्यसूचीमै सकिएका थिए ।