राजनीति

एमाले एकता सम्मानजनक हुनुपर्नेमा नेपाल पक्षको जोड, ओली र नेपालबीच वान अन वान वार्ता गराउने तयारी (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेलाई एकताबद्ध बनाउन गठित कार्यदल विघटन भइसके पनि सो कार्यदलमा रहेका सदस्यहरुले पार्टी एकता जोगाउन कसरत जारी राखेका छन् । तर पछिल्लो समय ओली पक्ष लचिलो बनेपनि नेपाल पक्ष भने झन—झन कठोर बन्दै गएकोले एमाले एक रहला भन्ने प्रश्न उब्जिएको छ । नेकपा एमालेको विवाद साम्य बनाउँन दोस्रो तहका नेताहरु लामो समयदेखि कसरत जारी राखेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउन गठित कार्यदल विघटन भइसके पनि विवाद समाधान नभएकोले सो कार्यदलमा रहेका सदस्यहरुले अनौपचारिक रुपमा काम गरिरहेको छ । तर लामो समयसम्मको प्रयासले पनि सार्थकता भने पाउन सकेको छैन । यद्यपी एमालेभित्रको घरझगडा बेलाबेला सार्वजनिक रुपमा प्रकट हुँदा एकता प्रकृया धरापमा पर्ने गरेको छ ।

आइतवार मात्रै नेकपा एमालेका माधव पक्ष र ओली पक्षका सांसदबीच संसदीय समितिमा चर्काचर्की नै पर्यो । यसले नेकपा एमालेको विवाद झनै उत्कर्समा पुगेको भान हुन्छ । यस झगडाले एमाले विवाद साम्य हुने छाटकाट नै देखिदैन् । त्यसोत बेला—बेलाको एमाले भित्रको तमाशाले दोस्रो तहका नेता समेत दिक्क बनेपनि अझै पनि पार्टीलाई एकताबद्ध बनाउँन लागिरहेका छन् ।

त्यसो त, आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्तामा पु¥याउन सहयोग गरेको भन्दै ओलीले नेपाल पक्षलाई भन्न केही बाँकी राखेका छैनन् । यसले गर्दा माधव झन—झन चिडिएका छन् । त्यसोत सर्वोच्च अदालतको परमादेशपछि सरकार विघटन भएसँगै ओलीले नेपालको स्थान पार्टीमा नरहेको उल्लेख गर्दै स्पष्टिकरण समेत सोधेका थिए । तर माधव पक्षले उल्टै ओलीलाई आरोप लगाउँदै जवाफ दिएपछि ओली यो विषयमा मौन छन् । दोस्रो तहका नेताहरुको निरन्तरको दवावपछि पछिल्लो समय ओली केही लचिलो बन्ने गरेका छन् । ओलीले विगतको गल्ती स्वीकार्दै सच्यिएर आए पार्टीमा ठाउँ दिने बताउँदै आएका छन् । तर माधव पक्ष भने झन—झन कठोर देखिदै आएको छ ।

यसोत ओलीले नेपाललाई पार्टीमा दोस्रो अध्यक्ष बनाउने समेत बताउन थालेका छन् । यता नेपाल पक्ष भने पार्टीमा अपमान सहेर बस्न नसक्ने भन्दै ओलीलाई थप गाल्न लागिपरेका छन् । कतिपय राजनीतिक विश्लेषकहरु भने एमाले भीत्रको लेनदेन नमिलुञ्जेल यसको विवाद साम्य नहुने बताउँछन् ।

लामो समयदेखि नेकपा एमाले भित्रको विवाद साम्य नहुँदा सिंगो पार्टीलाई क्षति पुगेको देखिन्छ । पार्टीका युवाहरु पनि आ आफ्नो समूहलाई रक्षा गर्ने नाममा लगाम विनाको घोडाजस्तो बन्ने गरेका छन् । देशकै ठूलो दलभित्रको वेथितिले नपालको राजनीतिलाई अस्थिर बनाउने भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्ने गरेका छन् ।