राजनीति

यादव पक्षले आफ्ना सांसद र कार्यकारिणी सदस्यलाई प्रशिक्षण दिँदै, आफ्नो पक्षमा तान्ने रणनीति


काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले आफ्ना सांसद र कार्यकारिणी समितिका सदस्यहरूलाई प्रशिक्षण दिँदै छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्ना पक्षका नेता र सांसदलाई आइतबार प्रशिक्षण दिन लाग्नुभएको हो ।


समसामयिक राजनीतिक सम्बन्धमा प्रशिक्षण दिन लागिएको जसपा यादव पक्षले बताएको छ । जसपा विवादको छिनोफानोका निर्वाचन आयोगले सोमबार नागरिकतासहित कार्यकारिणी समितिका सदस्यलाई बोलाएपछि आज यादव र भट्टराईले प्रशिक्षण दिन लाग्नुभएको हो । पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद छ । पार्टीको आधिकारिकता दाबी गर्दै यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि ठाकुरले पनि आफ्नो दाबी पेश गर्नुभएको थियो ।


तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गरेपछि ठाकुर र यादव समूहबीच विवाद बढेको थियो । कार्यकारिणी समितिमा अल्पमतमा रहेको ठाकुर समूहले आफ्नो पक्षमा निर्णय गराउन अदालतमा रिट दायर समेत गरेको छ ।