देश

चुच्चेपाटीमा निर्माण बोधि चैत्यको प्राण प्रतिष्ठा सम्पन्न


काठमाडौँ – काठमाडौँं महानगरपालिका वडा नम्बर ६ स्थित चुच्चेपाटी क्षेत्रमा गुरु पुर्णिमाको अवसर पारेर झ्याम्छुप छ्योर्तेन (बोधि चैत्य) को प्राण प्रतिष्ठा गरिएको छ ।

बौद्धनाथ विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यतामा उक्त प्राण प्रतिष्ठाको कार्य सम्पन्न भएको हो ।
वैशाख पहिलो सातादेखि निर्माण कार्य सुरु गरेर करिव डेढ महिना लगाएर असार १९ गते बोधि चैत्यको निर्माण सम्पन्न भएको थियो । महानगरको सार्वजनिक जग्गामा निर्माण गरिएको चैत्य १४ फिट अग्लो रहेको छ ।

चुच्चेपाटी दिदी बहिनी समूहको आग्रहमा निर्माण भएको चैत्यको कुल लागत भने सात लाख ५० हजार रहेको विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाले जानकारी दिनुभयो । निर्माण कार्यमा खर्च भएको सबै रकम बौद्धनाथ विकास समितिले उपलब्ध गराएको हो ।
लामा गुरु टुल्कु नेमाटेन्डी शेर्पाज्युबाट शिलान्यास गरिएर निर्माण थालिएको चैत्य उहाँबाटै पूजापाठको धार्मिक अनुष्ठान गरी प्राण प्रतिष्ठा गरिएको थियो । पूजापाठ पश्चात् विकास समितिका अध्यक्ष लामाले चैत्यको अनावरण गरेसँगै सर्वसाधारणका लागि खुल्ला भएको छ ।
बौद्ध धर्म दर्शनका अनुसार आठ वटा छ्योर्तेन मध्ये झ्याम्छुप एक छ्योर्तेन हो । यस छ्योर्तेनको प्राण प्रतिष्ठासँगै बौद्ध धर्मको क्षेत्रमा एउटा ईटा थपिएको अध्यक्ष लामाले बताउनु भयो ।

चैत्य अतिव्यस्त सडकको समीपमा भएकाले दिनमा नै हजारौं दर्शनार्थीले दर्शन गर्न पाउने र विश्व शान्तिको कामना गर्न विश्वास अध्यक्ष लामाको छ । अहिले जताततै अशान्ति फैलिरहेको अवस्थामा चैत्यको दर्शनले मात्रै पनि अशान्ति र तनावमुक्त हुने उहाँको भनाई थियो ।