देश

जबरजस्ती प्लाष्टिक उद्योग सञ्चालनमा ल्याउने प्रयास भएको भन्दै स्थानीयको विरोध


काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा घना बस्तीमै जबरजस्ती प्लाष्टिक वोतल रिसाईकल उद्योग सन्चालनमा ल्याउने प्रयास भएपछि विवाद सुरु भएको छ । सन्ध्या चौधरी र कृष्णभक्त श्रेष्ठ सञ्चालक रहेको पशुपति रिसाईकल ईण्डष्ट्रिजले विवादका बावजुद सो स्थानमा भौतिक संरचना समेत बनाएपछि यो विवाद नगरपालिकाको न्यायिक समितिसम्म पुगेको छ ।

स्थानीयसँग छलफल नै नगरी प्लाष्टिक वोतल रिसाईकल उद्योग सन्चालनमा ल्याउने तयारी थालेपछि काठमाडौँको थलीमा विवाद देखिएको छ । उद्योग निर्माणका लागि जग्गा सम्याउने कार्य भएबाटै स्थानीयबासीले यसको विरोध गर्दै आएकोमा सन्चालकहरुले भने पहिले स्टोर बनाउन लागेको भन्दै काम अघि बढाएको स्थानीयको आरोप छ । तर पछि मेसिनसमेत आएपछि उद्योग बन्दै छ भन्ने भेउ पाएका उनीहरुले मेसिन राख्न समेत दिएका थिएनन् । तर स्थानीय प्रहरीले प्रशासनको सहयोगमा मेसिन राख्न दिएपछि आक्रोशित स्थानीयले उद्योगको विरुद्धमा नगरपालिकामा निवेदन बुझाएका छन । ४९ जनाभन्दा बढिले स्थानियले आफ्नो हस्ताक्षरसहित उद्दोगविरुद्ध निवेदन दिएका हुन् ।

यस टोलमा घनावस्ती भएको, स्कुल अस्पताल निर्माण भईरहेका तथा तीब्र रुपमा वस्ती विस्तार भईरहेकोले प्रदुषणयुक्त उक्त उद्योग बन्द गर्न उनीहरुको माग छ । उक्त उद्योगले विषाक्त धुँवा फ्याल्ने, संकलन गरिएको प्लाष्टिक जन्य फोहोरले छेउछाउमा बसोबास गर्नेहरुको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकोले उद्योग सन्चालनमा आउन नहुने स्थानीयको माग छ । यतिमात्र नभई उद्योगले स्थानीयसंग सामान्य छलफल समेत नगरी शक्तीका आँडमा जबरजस्ती कामलाई अघि बढाएको स्थानीयको आरोप छ ।

तर सन्चालकहरु भने आफूहरु कानुनत बलियो रहेका बताउछन । सबै कागजात पुर्याएर नै प्रक्रिया अघि बढाईएकोले कस्ले के गर्न पाईने नपाईने आफूहरुले निर्धारण गर्न नहुने उनीहरुको तर्क छ । स्थानीय र छिमेकीसंग छलफल भएको र स्वीकृती पनि दिएकाले सबै कानुनी प्रक्रिया पुरा गरिएको उनीहरुको दाबी छ । तर केहिले भने व्यक्तिगत स्वार्थका कारण आफूहरुको कुरा सुन्न नचहाएको कम्पनीका प्रतिनिधिहरु बताउछन । कम्पनीले कुनै प्रकारको रसायन प्रयोग नहुने उनीहरुको भनाइ छ । ईन्धनको रुपमा दैनिक रुपमा प्रयोग हुने दाउराको मात्रा समेत एक परिवारले प्रयोग गर्ने भन्दा न्युन हुने उनीहरुको दाबी छ । त्यसले समेत वातावरण असर नपुगोस भन्नका खातिर उच्च गुणस्तरको र अत्याधुनिक मेसिन खरिद गरिएको कम्पनीका प्रतिनिधिहरु बताउछन् । जुन मेसिनहरु वातावरणमैत्री भएको उत्पादक कम्पनीको दाबी छ ।

स्थानीयले धारणा बनाएजस्तो विकराल स्थिति हुने होइन भने बास्तविकता स्थानीय माझ प्रष्ट पार्नु कम्पनीको कर्तव्य हो । बाहिर बाहिर मात्रै नीतिगत कुरा गरेर जनतालाई भ्रममा पार्ने कार्य नगरेकै राम्रो । जनतालाई त्रसित बनाएर उद्योगीहरुले पाउने भनेको दुख मात्रै हो ।