राजनीति

प्रधानमन्त्रीलाई एमालेको कटाक्ष–कहाँबाट आयो जनादेश ? देउवाले दिए यस्तो जवाफ


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा दलका संसद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले काटाक्षसहित बधाई दिएपनि अन्य दलका नेताहरुले भने रचनात्मक सुझावसहित बधाई दिएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षले आफ्नो पार्टीमा मात्रै अनुशासन खोजेको टिप्पणी गरे । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेम्वाङले अन्य दलभित्र छुट्टै गठबन्धन निर्माण गर्ने काम गलत भएको बताएका हुन् । कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्छौं भनेर पत्र लेखिए पनि त्यही दाबीमा अन्य दलका सांसदलाई स्वतन्त्र हैसियतको सांसद भनेर गलत संस्कार बसाएको आरोप लगाए ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा दाबी गर्न जाँदा कांग्रेस र माओवादी केन्द्रले दलको पत्र पेश गरेको तर आफ्ना सांसदलाई स्वतन्त्र सांसदका रुपमा लगिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरेकोप्रति पनि टिप्पणी गरे । आफ्नो दलमा ह्वीप लगाउने र अर्को दलका नेतालाई ह्वीप उल्लंघन गर्न उक्साएको उनको आरोप थियो । उनले सर्वोच्च अदालतको फैसलाले राज्यका तीन अंगबीचको शक्ति सन्तुलनलाई खल्बलाएको समेत टिप्पणी गरे ।

त्यसैगरी संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरस नियन्त्रणसँगै भ्रष्टाचारको भाइरस पनि नियन्त्रण गर्न आग्रह गरे । सिंहले ओली सरकारले बढाएको भ्रष्टाचारलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रधानमन्त्री देउवाको काँधमा आएको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि सरकारले खोपलाई प्राथमिकतामा राखिसकेको पनि बताए । उनले रेल पनि चलिसकेको र पानी जहाज पनि आइसकेको भन्दै सबै कुरा ओलीजीले गरिसक्नुभएकाले हाम्रो प्रधानमन्त्रीलाई सजिलै होला भन्दै ओली सरकारप्रति ब्यङ्ग्य गरे ।

सुवास नेम्वाङ्लाई शंकेत गर्दै सिंहले संविधान र कानुनका विद्यार्थी भन्नेहरुले संविधानको गलत व्याख्या गरेको आरोप लगाए । त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्व. गिरिजाप्रसाद कोइरालालाई जस्तै छवि बनाउने अवसर रहेको बताएको छ । प्रतिनिधि सभा बैठकमा देउवालाई बधाई दिँदै माओवादी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अनुभव र परिपक्वताका कारण प्रधानमन्त्री देउवालाई नयाँ इतिहास रच्ने अवसर रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाबाट सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा जनताले गरेको गजुरेलले बताए ।

उनले पटक–पटक विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले संविधानलाई जीवित तुल्याइदिएको बताए । अन्य दलका नेताहरुले पनि कोरोना नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा पहल गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।