राजनीति

‘देउवालाई गिरिजाप्रसाद कोइरालाको जस्तै छवि बनाउने अवसर’


काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको जस्तै छवि बनाउने अवसर आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि त्यो अवसर आएको बताउनुभएको हो ।

गजुरेलले देउवा पटक–पटक प्रधानमन्त्री भएकाले विगतका अनुभवहरुको समीक्षा गर्दै राष्ट्रलाई नयाँ दिशामा लानका लागि पनि अनुरोध गर्नुभयो । संविधानको रक्षा र संविधानको संशोधन गर्नका लागि वर्तमान सरकारले अग्रणी भुमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘उहाँले अब फेरी गिरिजाप्रसाद कोईरालाले जो छवि बनाएर जानुभयो । त्यो छवि उहाँले कायम गर्नुपर्छ । इतिहासको समिक्षा गरेर कहाँ कहाँ त्रुटी भए, उहाँ पटक पटक प्रधानमन्त्री हुनुभयो, धेरै अनुभवपनि छ । समिक्षा गरेर यो राष्ट्रलाई नयाँ दिशातिर लानका लागि र यो संविधानको रक्षाको लागि र संविधानलाई अझ पुर्णता दिनको लागि यसको कतिपय प्रावधानहरु जो अहिले हामी आवश्यकता महशुस गरिरहेका छौँ त्यसलाई संशोधन गर्नका लागि पनि उहाँको अग्रणी भुमिका हुनेछ ।’

सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा हुनेमा अपेक्षा गरिएको पनि बताउनुभयो । उहाँले जनताले सुशासन र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरेको उल्लेख गर्दै सरकारले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्ने बताउनुभयो ।