राजनीति

आवेग र उत्तेजनामा आएर राजीनामा दिएको थिइन : डा.रावल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.भीम रावलले आफूले कुनै पनि आवेग र उत्तेजनामा नआई राजीनामा दिएको र जनता र मतदाताको व्यापक आग्रहपछि राजीनामा फिर्ता लिएको बताउनुभएको छ ।बताउनु भएको छ ।

शुक्रबार संसद् बैठकमा राजीनामा फिर्तापछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा.रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजिवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको बताउनुभयो । स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

डा.रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मत लिनुभन्दा अघि रावलले सांसद पदबाट राजीनामा दिनुभएको थियो । अनैतिक राजनीतिक खेलमा आफू संलग्न नहुने भन्दै रावलले राजीनामा घोषणा गर्नुभएको थियो । रावलले दिएको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गर्नुभएको थिएन ।

डा.रावलको राजीनामा फिर्ता गर्न एमालेका कार्यकर्तादेखि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीले पनि आग्रह गर्नुभएको थियो । नेता नेपालले त उहाँको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

रावलले राजीनामा फिर्ता लिँदै आफ्नो कारण दुःख भएकामा सभामुखसँग क्षमायाचना पनि गरेको सभामुखको सचिवालयले जनाएको छ । रावल अछामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।