राजनीति

के होला जसपाको भविष्य ? किन जसपा एकताको पक्षमा छन देउवा ? (भिडियोसहित)


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण फुट्नै लागेको जसपमा प्रधानमन्त्री देउवाका कारण चमत्कारिक परिवर्तन देखिएको छ । हिजो पार्टी फुटकै अवस्थामा भएपनि ओली सरकारमा सहभागी भएको ठाकुर–महतो गुट अहिले अर्को गुटसंगै उभिएको छ । अर्थात यादव–भट्टराई गुटसंगै आएर विश्वासको मत दिएपछि के अब जसपाको आन्तरिक विवाद समाधानको मोडमा आएको भन्ने धेरैको चासो बनेको छ । आखिर के छ त वास्तविकता ?

केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दुई पटकसम्म गैरसंबैधानिक रुपमा संसद विघटन गर्दा समेत साथ दिएको जसपाको महन्त ठाकुर–राजेन्द्र महतो गुट अहिले उनकै विरुद्धमा छ । ओली सरकामा ठुलो भाग पाएपछि यो गुटले पार्टी विभाजन हुने सम्भावनालाई पनि नजरअन्दाज गर्दै सरकारमा गएको थियो । पार्टी भित्रको विवाद कुन तहसम्म थियो भने पूर्व राजपा घटकका रुपमा समेत रहेको यो गुट र उपेन्द्र यादव –बाबुराम भट्टराई गुटबीच एक अर्कालाई कारबाही गर्ने श्रृखला नै चलेको थियो ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा सहभागी भएपछि पार्टी विवाद थप चर्कियो । जबकी ४ जेठमा ठाकुर र यादवबीच राष्ट्रिय सहमतिको सरकार वा आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने अवस्थामा बाहेक प्रतिपक्षमा बस्ने सहमति गरेका थिए । ठाकुर पक्षले उक्त सहमति भंग गरेपछि नै पार्टी विभाजनको दिशामा गएको थियो । यतिमात्र नभएर राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपाले गत असार २२ गते निर्वाचन आयोगमा गएर पार्टी फुटाउन हस्ताक्षर नै गरेका थिए । तर एकताको झिनो आशा भने बाँकि रहेको दुबै पक्षका नेताहरुले भनाई थियो । के अब जसपामा एकता सम्भावना बढेको हो त ?

यो बीचमा आफूसंग बहुमत सांसद भएको दाबी सहित यादव गुटले पार्टीको विधान पारित गरेको छ भने संसदीय दलको नेता छान्ने प्रक्रियामा गएको छ । तर उनीहरुसंगै आएर ठाकुर–महतो गुटले समेत देउवालाई विश्वासको मत दिएपछि एकताको सम्भावना पुन बढेको छ । प्रधानमन्त्री देउवाको ईच्छा पनि जसपाको एकता नै भएका कारण यस्तो सम्भावना देखिएको हो ।

भोलि एमाले एकता भए आफू अल्पमतमा पर्न सक्ने देखेका देउवा जसरी भएपनि जसपा एक बनाउने दौडमा छन् । तर यादव पक्षका नेताहरु भने एकताको कुनै सम्भावना नरहेको बताउछन । विश्वासको मत दिने नदिने कुरा पार्टी एकतासंग नभई सत्तास्वार्थसंग जोडिएको उनीहरुको भनाई छ । निर्वाचन आयोगले आफूहरुलाई आधिकारित दिने र लगत्तै प्रतिगमनलाई साथ दिनेहरुमाथि कारबाही हुने यादव पक्षीय नेताहरु बताउछन ।

हुन त नेपालको राजनीतिमा असम्भव भन्ने केहि पनि नभएको धेरैले टिप्पणी गर्ने गर्छन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने यसअघिकै घटनाक्रमले समेत देखाएका छन । तर पछिल्ला दिनमा यादव पक्ष एकलौटी ढंगले अघि बढेकोले जसपा एक होला र भन्ने प्रश्न पनि छ । यद्यपी दुबै गुट एउटै लयमा फर्किएको तथा देउवाको प्रयास पनि जारी रहेकोले जसपा एक हुने सम्भावना भने टरेको भने छैन ।