राजनीति

माधवले ओलीको अपमान नसहने, ओलीले आममाफी दिने (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका दुबै पक्षले संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा समेत छुट्टाछुट्टै सभा गरे । तर दुबै सभामा संस्थापक नेताको योगदान कम र आफ्नै कुण्ठा बढी ओकलिए । जसमा आममाफीदेखि अपमानसम्मका कुराले प्राथमिकता पाए ।

एमालेका दुई शीर्ष नेता, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विहिबार एकैसमयमा दुई फरक सभालाई सम्बोधन गरे ।उनीहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा उनैलाई सम्झिन आयोजित सभामा एकअर्कामाथिको भडास् निकाले ।

पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलबाट अध्यक्ष ओलीलेभड्कीएका नेताहरुलाई आममाफी दिएको घोषणा गरे । तथापी विपक्षी दलको नेतालाई फ्लोर क्रस गरेर मत दिनुलाई अपराधको संज्ञा पनि दिए । यसअघि वालुवाटारबाट वालकोट पुगेपछि माधव नेपाललाई गद्दार घोषणा गरेका ओलीले बुधबार नै माधव पक्षका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । बुधबारको केन्द्रीय कमिटी बैठकमावरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान तयार रहेको बताएका ओलीले विहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई आममाफी दिने घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै आममाफी दिने घोषणा गर्दैगर्दा वरिष्ठ नेता नेपालले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा आयोजित सभालाई सम्बोधन गर्दै अपमान सहेर पार्टीमा नबस्ने दाबी गरे ।नेता नेपालले आफैले बनाएको घर छाडेर हिड्न मन नभएपनि गलत कुरा सहेर कोही नबस्ने बताए । उनले केहीदिन अघि आफुलाई जनै खटिराले दुःख दिएको सम्झिदै पार्टीभित्रका घाउ खटिराले झनै दुखाईरहेको बताए ।

नेता नेपालले कहिले स्याल हुइयाँ, कहिले बार्दलीमा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक गरेर ओलीलेकम्युनिस्ट चरित्र विपरितको प्रवृति देखाएको आरोप लगाए । पुष्पलाल स्मृति दिवसमा दुबै नेताले उनलाई कम आफ्ना अन्तरकुन्तरलाई बढी सम्झिए । यसलेसंस्थापक नेताका नाममा उनकोयोगदान र आदर्शमाथि राजनीतिक मजाक उडाएको झल्किन्थ्यो ।पार्टी एकताका लागि दुबैले प्रयास थालेको बताएपनि एकअर्कामाथि आरोप प्रत्यारोप लगाउनबाट भने रोकिएका छैनन् ।

बुधबार मात्रै ओलीले सोधेको स्पष्टिकरणको जवाफ माधव पक्षका २२ सांसदले विहिबार फर्काएका छन् ।तर एकै स्थानमा उभिएर एकता प्रक्रिया थाल्न दुबै पक्षका लागि फलामको चिउँरा चपाएसरी हुने देखिन्छ ।