राजनीति

जसपाका दुबै पक्षको बहस सकियो, साउन ११ मा सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन आदेश


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ । विहीबार दुवै पक्षको बहस सकिएपछि पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगले इजलासले आदेश दिएको हो ।

तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए । आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएन ।

आयोगले पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।