राजनीति

पुष्पलालको ४३औं स्मृति दिवस आज


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसमा आज नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी पुष्पलालकोे योगदानको चर्चा गर्दैछन् ।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बस्नुभएको थियो ।

रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।