राजनीति

प्रधानमन्त्री देउवा भन्छन् वीपी सानो देशको ठूलो मान्छे


काठमाडौँ – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज ३९ औं स्मृति दिवस मनाइँदै छ । वीपीको विचार र नेतृत्वको नेपालमा मात्रै नभई सबैतिर चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक कोइरालाको स्मृति दिवस मनाइरहँदा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई ‘सानो देशको ठूलो मान्छे’को उपमा दिएका छन् ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले “वीपी कोइरालालाई मैले सानो देशको ठूलो मान्छे भन्ने गरेको छु । त्यसैले हामीले वीपीका सामान्यभन्दा सामान्य कुराहरुसमेत ग्रासरुटका कार्यकर्तालाई पठाउन र बुझाउन सुरु गरेका छौँ । यही विचारबाट हाम्रो पार्टी अझ सशक्त र बलियो बन्नेछ भन्ने विश्वास गरेको छु ।”

देउवाले वीपीका भाषण मात्रै सुन्दा समेत धेरै पाठ सिक्न सकिन बताए । “वीपी त्यस्तो व्यक्तित्व हो, जसको सम्झनाले मात्र पनि हाम्रो पार्टीले प्रेरणा प्राप्त गर्दछ ।”

उनले वीपी बहुआयामिक व्यक्तित्व भएको भन्दै उनको व्यक्तित्वको चर्चा मात्र गर्न पनि कठिन भएको बताए । वीपी साहित्यदेखि राजनीतिसम्म राम्रो दखल राख्ने भन्दै उनी अलराउण्डर रहेको र यस्ता व्यक्ति नेपालमा अरु नभएको देउवाले बताए । देउवाले भने, “समाजवादलाई व्याख्या गर्नेदेखि समाजवादी साहित्य लेख्नेसम्मका काम उहाँबाट भएका छन् ।”