राजनीति

देउवालाई भेट्न ठाकुर पुगे बालुवाटार


काठमाडौँ – आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गर्न ठाकुर सरकारी निवास पुगेको बुझिएको छ ।

हिजोमात्रै जनता समाजवादी पार्टीको बैठकले केपी शर्मा ओलीको सरकारले आफ्ना माग केही हदसम्म सम्बोधन गरेको भन्दै धन्यवाद ज्ञापन गरेको थियो। साथै ती मागहरु पूरा गर्नका लागि शेरबहादुर देउवा नेतृत्वसँग आग्रह गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट आज महन्थ बालुवाटार पुगेका हुन्।

देउवा प्रधानमन्त्री बनेलगत्तै पछि महन्थ–राजेन्द्र महतो पक्षका नेताहरुले आफ्नो साथ छोड्न पुगेपछि ठाकुर पक्ष कमजोर बनेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादवको साथ सहित प्रधानमन्त्री बनेका देउवालाई अन्तिम समयमा आएर ठाकुर पक्षले पनि अप्रत्यासित रुपमा समर्थन गरेको थियो । आफूहरु कमजोर बन्दै गएपछि ओलीको साथ छाडेर ठाकुर–महतो देउवातिर लागेको हो।

निर्वाचन आयोगमा विचाराधीन रहेका कारण उपेन्द्र यादव समूह सरकारमा सामेल भइसकेको छैन। देउवाको पक्षमा सुरुदेखि नै सक्रिय रहेको यो समूह सरकारमा नजाँदै महन्थको बालुवाटार दौडधुपलाई महत्वका साथ हेरिएको छ। महन्थलाई पनि आफ्ना सांसद जोगाउन देउवालाई गुहार्नुपर्ने अवस्था आएको छ। त्यसैले, संविधान संशोधन, नागरिकता विधेयक, जेलमा रहेका नेता कार्यकर्ताको रिहाईको मागसँगै सरकारमा सहभागिता जनाउनसक्ने सम्भावना समेत देखिएकाले महन्थ ठाकुरको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

ओली नेतृत्वको सरकार हुँदा पनि ठाकुर पक्षका ११ जना नेता मन्त्री बनेका थिए । सर्वोच्च अदालतले मन्त्रिपरिषद फेरबदललाई गैर संवैधानिक भएको भन्दै भन्दै १३ दिन पछि उनीहरुको पद खारेज गरिदिएको थियो।