राजनीति

जसपामा देखिएको नयाँ ट्वीस्ट : देउवालाई सहयोग गर्नुको यस्तो कारण (भिडियोसहित)


काठमाडौँ – केपी शर्मा ओलीका कारण फुटको संघारमा पुगेको जसपा प्रधानमन्त्री देउवाका कारण एक ठाँउमा उभिएको छ । अर्थात ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा ओलीतिर रहेको ठाकुर–महतो घटकले अहिले आएर यादवसंगै देउवा सरकारलाई विश्वासको मत दिएको हो । तर एजेन्डाको राजनिति गरेको बताउने यो समूहमा एकाएक यो परिवतर्नन कसरी सम्भव भयो ?

केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्दा ओलीकै साथमा रहेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो घटकले अहिले देउवालाई पनि साथ दिएको छ । पहिलो चोटी भएको संसद विघटनलाई प्रतिगामी कदम भनेर सडकमा आएपनि यो घटक पछि ओलीकै सरकामा सहभागी भएको थियो ।

त्यतिवेला १२–१५ जना सांसदको सानो समूह लिएर ११ मन्त्रीको ठूलो भाग लिएको ठाकुर–महतो पक्षले पार्टी फुट्न सक्ने सम्भावनालाई समेत नजरअन्दाज गरेका थिए । संविधान संशोधन, रेशम चौधरीलाई छुटाउने, आपराधिक मुद्दा फिर्ता लगायत माग यो घटकको थियो । त्यसमध्ये १०० जति मुद्दा फिर्ता पनि भयो । आफ्ना मागहरु पूरा नभएसम्म सरकारमा नजाने अडान लिएको यो समूहले ओलीले माग पूरा गर्ने बताएपछि सरकारमा सामेल भएका थिए ।

जबकि त्यसअघि यी नेताले कसैलाई सबैभन्दा बढि घृणा गर्थे भने त्यो केपी ओली नै थिए । राजेन्द्र महतोले त ओलीले बारम्बार आफूहरुलाई ठगेको तथा आफ्नो काम कसैलाई प्रधानमन्त्री बनाईरहनुमात्र नभएको बताउँदै आएका थिए ।

तर महन्तमा आएको चमत्कारी परिवर्तनसंगै उनी पनि सरकारमा सहभागी भए अनि उपप्रधानमन्त्री नै हात पारे । यो बीचमा ओलीप्रति उनकै नेता ठाकुरको अचम्मको लचकता देखियो । अवस्था कस्तो सम्म रह्यो भने अरु दलहरुले प्रधानमन्त्री नै बन्न बोलाउँदा पनि ठाकुर तयार भएनन् । अर्थात आफ्ना लागि उम्मेदवार नै नउठाएको नेपाली कांग्रेसको विपक्षमा ठाकुर उभिन पुगे ।

यो घटकको आग्रहमा ओलीले सम्बोधन गदिएको भनिएको कतिपय माग पछि सर्वोच्च अदालते रोकिदियो । सर्वोच्चको फैसलाले तीन साता पनि सरकारमा बस्न नपाइ ९ मन्त्री र २ राज्यमन्त्रीको पद गयो । सर्वोच्चको आदेशसँगै जसपाका नेताहरुको पद मात्रै गएन, मधेस–मधेस भन्दै जनता झुक्याउने राजनीतिको खेल पनि सकियो । तर एकाएक आईतबार यो समूहले देउवालाई समेत विश्वासको मत दिएपछि जसपामा नयाँ ट्वीष्ट देखिएको छ । हिजोसम्म ओलीकै कटु आलोचक रहेर ओलीकै सरकारमा गएका उनीहरुले किन देउवालाई पनि समर्थन गरे त ?

जसपाको यो घटकले यति विवेक समयमै प्रयोग गरेको भए, यो दलप्रति सचेत मानिसहरुको सम्मान बढ्थ्यो । ओलीको स्वेच्छाचारिताले उग्र रुप लिने मौका पाउने थिएन । देशमा भद्रगोल हुँदा मौन, अस्थिरता हुँदा अस्थिरताकै पक्षमा, रँडाको हुँदा पनि रमिते हुने अनि अहिले देउवालाई भोट हाल्न आउने यो समूहको प्रवृत्तीले मधेशी दलहरु कस्का र के का लागि राजनीति गरिरहेका छन भन्ने प्रष्ट भएको छ ।