देश

७९ ग्राम ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ


काठमाडौँ – पर्सामा ७९ ग्राम ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाका पकाहा मैनपुर गाउँपालिका– १ का वडाध्यक्ष ‘अम्बिका’ भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुबाट लागुऔषधसहित मोटरसाइकल पनि बरामद गरिएको छ । पक्राउ परेका तीन जनामध्ये अन्य एक जना वडा सदस्य रहेका छन् ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई साउन ३ गते राति साढे १० बजे इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो । बलिष्ट वडासदस्य पनि हुन् ।

वडाध्यक्ष अमेरिकाले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हेरोइन फेला परेको थियो। उनीसँगै बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर थिए। उनीहरु तीनै जनाविरुद्ध लागु औषध मुद्दामा आवश्यक कारबाही शुरू गरिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर १ वर्ष अघिमात्रै लागुऔषध गाँजा मुद्दामा धरौटीमा छुटेका थिए भने वडाध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।