राजनीति

देउवालाई अहिलेका श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरे : प्रदीप ज्ञवाली


काठमाडौँ – नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गर्नुभएको छ । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा बोल्दै उहाँले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने तर अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ ।’ त्यस्तै ज्ञवालीले रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको बताउनुभयो ।

एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताउनुभयो । उहाँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको दाबी पनि गर्नुभयो ।