राजनीति

ओली सरकारले ११ मुलुकका लागि गरेको राजदूत नियुक्ति सिफारिस खारेज


काठमाडौँ – सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा विभिन्न ११ मुलुकमा गरिएको राजदूत नियुक्ति खारेज गरेको छ । सरकारले संसदीय प्रक्रिया छलेर राजदूत नियुक्त गरेको भन्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती सबै राजदूत नियुक्तिलाई खारेज गरेको हो ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको थियो । प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो । ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो । त्यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो ।

ओली नेतृत्वको अघिल्लो सरकारले राजदूत नियुक्त हुन कम्तीमा स्नातक उत्तीर्ण गरेको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्ने व्यवस्थालाई संशोधन गरी पूर्वमन्त्रीको हकमा स्नातक उत्तीर्ण हुन नपर्ने व्यवस्था गरेको थियो । तर सर्वोच्चले त्यसलाई खारेज गरेको थियो ।