राजनीति

किन तोकिएको अवधिभन्दा चाँडै विश्वाको मत लिँदै छन् देउवा ? कस्तो छ अंक गणित ?


काठमाडौँ – संविधानको धारा ७६(५) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यही धाराका आधारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रधानमन्त्री भएको ६ दिनमा विश्वासको मत लिँदै छन् । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।

एमालेमा अध्यक्ष केपी ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि एकाएक नयाँ निर्णय भएको बताइएको छ । एमालेको माधव नेपाल पक्षले संसद जोगाउनका लागि देउवालाई विश्वासको मत दिने बताएको छ । यसका बावजूद विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कांग्रेस सचेतक पुष्पा भुषालले जनाएकी छन् ।

यस अघि ओलीले दोस्रो पटक संसद् विघटन गरिसकेपछि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए भने सर्वोच्च अदालतमा दायर भएको रिटमा १४६ जना सांसदले हस्ताक्षर बुझाएका थिए । गएको असार २८ गते सर्वोच्चको आदेशबाट संसद पुनःस्थापना भइ सोही आदेश अनुसार देउवाले असार २९ गते मंगलबार प्रधानमन्त्रीको शपथ लिएका थिए। अब देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ।

एमालेको माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१, माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमोर्चाका १ गरी १२२ जना सांसदको साथ प्रष्ट छ। त्यसमा जसपाको उपेन्द्र यादव समूहमा ६ जना सांसद थपिएको दाबी गरिएको छ। यसो भएपछि देउवाको समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदको समर्थन जुट्छ। अपुग संख्या माधव समूहले पूर्ति गर्ने पक्का भएपछि देउवाले आजै विश्वासको मत लिने निर्णय लिएको श्रोतले जनाएको छ।

धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वोच्चले गरिसकेको छ। मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वोच्चको फैसलामा उल्लेख छ। आज ४ बजे बस्ने पहिलो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने छ। त्यसपछि दलका तर्फबाट नेताहरुले बोल्न चाहेमा समय दिने तयारी सभामुखले गरेका छन्।

त्यसपछि पहिलो बैठक सकिने र लगत्तै दोस्रो बैठक सुरु हुने छ। दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने छन्। विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ। विश्वासको मत नपाएमा संसद् विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ।