राजनीति

संसद् बैठक दुई चरणमा हुने, प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिने तयारीमा


काठमाडौँ – संसद् सचिवालयका अनुसार आज बस्ने भनिएको बैठका दुई चरणमा हुने भएको छ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ

संविधानको व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आकलन गर्दै आजै विश्वासको मत लिन लाग्नुभएको हो ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।