राजनीति

जसपाको राजनीति : जता पद उतै पुग्छन् जसपाका सांसद्


काठमार्डौँ – पहिलो प्रतिनिधि सभा विघटन पुनस्थापना भएदेखि नै सरकार बनाउनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) दोस्रो पटकको पुनस्थापनापछि पनि निर्णाय नै देखिएको छ । सर्वाेच्चको संसद् पुनस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी भइसकेपछि विश्वासको मत लिने दिनेको अंक गणित सुरु भएको छ । यससँगै पार्टीका एक खेमाका सांसद अर्का खेमामा जाने प्रवृत्ति पनि बढेको छ । उपेन्द्र यादव पक्ष सरकारमा जाने निश्चित भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन्। यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन् ।

यस अघि ओली सरकारमा जाने बेला ठाकुर पक्षसँग २० र उपेन्द्र यादवको पक्षमा १२ जना मात्र सांसद थिए। ओली सरकारमा जाने तयारी थालिएसँगै यादव पक्षमा चार सांसद विमल श्रीवास्तव, उमाशंकर अगरैया, रेणुका गुरुङ, कल्लुदेवी विश्वकर्मा कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेसँगै ठाकुर पक्षमा २४ र यादव पक्षमा ८ सांसद रहेका थिए । तर अहिले परिस्थिति ठीक उल्टो भएको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानीमण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए। रुही नाथले आफू काठमाडौंबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन्। ‘उहाँ (रुही नाथ) हाम्रो पक्षमा आइसक्नुभएको छ। आज (शनिबार) सर्लाहीमा भएकाले बैठकमा आउन नसक्नुभएको हो,’ नेता मृगेन्द्रसिंहले भने, ‘उहाँले यो कुरा हाम्रो अध्यक्षज्यूलाई जानकारी गराउनुभएको छ।’ ठाकुर पक्षका एक सांसद महेन्द्र यादव भने पहिले नै कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका थिए।

यी सबै परिस्थिति हेर्दा यादवको पक्षमा सांसद १७ पुगेको छ भने ठाकुर पक्ष १५ सांसदमा सीमित भएको छ। ठाकुर पक्षका सांसद प्रमोद साहको भनाई अनुसार थप एक सांसद दुलारीदेवी खतवेले कित्ता परिवर्त गर्ने निश्चित छ । उनले पनि कित्ता परिवर्तन गरेको अवस्थामा यादवको पक्षतिर १८ र ठाकुरको पक्षमा १४ सांसद हुनेछन्। केपी ओली नेतृत्व सरकारमा मन्त्री नभएपछि साह महन्थ ठाकुरसँग असन्तुष्ट थिए । कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन्। ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन्। कित्ता परिवर्तन गरेकाहरू शुक्रबार महन्थ ठाकुरले बोलाएको जसपाको संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये केहीले कहिले कता कहिले कता कित्ता परिवर्तन गर्ने गरेका छन्। ठाकुर पक्षका अर्का एक सांसद राजकिशोर यादव ठाकुर पक्षबाट टाढिएका छन्। यद्यपि उनी उपेन्द्र यादव पक्षमा पुगेका छैनन्। उनले जसपाभित्रै अर्को गुट बनाएको चर्चा सुरु भएको छ।