राजनीति

पुनर्स्थापित संसद्को पहिलो बैठक बस्दै


काठमाडौँ – दोसा्रे पटकको प्रतिनिधि सभा विघटन भइसकेपछिको पुनस्थापनापछि सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।


सभामुख अग्नि सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताउनुभएको छ । मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । यो अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ ।

बैठकमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइने छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रहेको छ । राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।