समाचार

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ? यस्तो छ धार्मिक र साँस्कृतिक महत्व


काठमाडौँ – साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन ।
साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित हिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ ।

महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन । साउन महिना सुरुभएसँगै बजारमा हरियो चुरापेतो र महेन्दी लगाउनेको चहलपहल सुरू हुन्छ । तर यो वर्ष भने बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुमा घटेको छ ।
असार अन्तिमदेखि नै साउनमा हरियो पोते, चुरा र मेहन्दी लगाउने भिड हुन्थ्यो तर यो वर्ष कोरोना संक्रमणको डरले ग्राहक शून्य जस्तै भएको व्यवसायीहरु बताउँछन् ।

साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउछन् । श्रीमानको दिर्घायुका लागि र आफूलाई पनि मन पर्ने भएकाले कतिपयले यो महिना हरियो चुरापोते र मेहन्दी लगाउने गरिन्छ ।

हरियो रंगको महत्व ?
ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।
बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ ।

यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ । भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।