राजनीति

ठाकुर सहितको टोली बालकोटमा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार हटेपछि पहिलो पटक ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । महन्थ ठाकुरसँग राजेन्द्र महतो, अनिल झालगायत नेताहरू बालकोट पुगेका हुन् ।

ओली नेतृत्वको सरकारमा जसपाको यो समूह जेठ २१ गते सहभागी भएको थियो। तर असार ८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि महिना दिन पनि नपुग्दै पदच्युत भएको थियो।

यसपछि सर्वोच्च अदालतले पुनः गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली नै सत्ताबाट बाहिरिएका हुन्। देउवा सरकारलाई भने यादव पक्षले साथ दिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्टी विभाजन हुने अन्तिम चरणमा छ। जसपा विभाजनको फैसला गर्न साउन ३ गते निर्वाचन आयोगले गठन गरेको इजलास बस्दै छ।