राजनीति

विशेष अदालतका चार न्यायाधिशको अचानक सरुवा


काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भइ विगत डेढ वर्षदेखि फरार रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा रिहा गरेलगत्तै विशेष अदालतका अध्यक्षसहित ४ न्यायाधीशको अचानक सरुवा भएको छ । विशेष अदालतले उनीहरुलाई काज सरुवा गरेको हो।

बुधबार मात्रै गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका अध्यक्ष आफैं सरुवा भएका छन्। बुधबार अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको थियो।

त्यसको पर्सिपल्ट नै अध्यक्ष अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ । यस्तै न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालतमा, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालतमा, न्यायाधीश चन्द्रबहादुर सारुलाई सुर्खेत अदालतमा सरुवा गरिएको छ ।

विशेष अदालतमा अध्यक्षसहित ६ जना मात्र न्यायाधीश हुन्छन् । यीमध्ये अध्यक्षसहित ४ जना न्यायाधीशको एकैपटक सरुवा भएपछि अब विशेषमा दुई न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय छन्। यी दुवै गच्छदारको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीश हुन्। चारै जनाको न्यायाधीशको सरूवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गरेका हुन्।