राजनीति

नागरिकलाई खोपको विषयमा संयमित हुन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – नेपाल सरकारले खोप अभियानलाई तिव्रता दिएसँगै सबै नागरिकलाई संयमित हुन भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले खोप लगाउन पाउने भन्दै संयमित भएर खोप अभियानमा सहयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयले शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै चरणवद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने भएकाले आफ्नो पालोमा भीडभाड नगरी खोप लगाउन आग्रह गरेको हो। चीनबाट खरिद गरिएका थप खोप साउन ६ गतेदेखि निरन्तर आउने मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।

चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोजमध्ये पहिलो लटमा आठ लाख मात्रै आएको छ। साउन १५ भित्र कम्तीमा ३२ लाख र त्यसपछि पनि अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने अधिकारीले बताए।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर लामो समयदेखि दोस्रो डोज कुरिरहेका ६५ वर्षमाथिका नागरिकलाई खोपको व्यवस्था भइसकेको पनि मन्त्रालयले जनाएको छ। केही दिनभित्रै ती खोप लगाउन सुरु गरिने सहप्रवक्ता अधिकारीले बताए।