कोरोना विशेष

१८ वर्षमाथिका नागरिकलाई खोप दिने सरकारको तयारी


काठमाडौँ – सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।

आवश्यक खोपको समेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणबद्ध रुपमा सबै नागरिकलाई छिट्टै निस्शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्ता अधिकारीका अनुसार यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।

साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।