राजनीति

नेपाललाई खोप अनुदानमा दिने चीन पहिलो,अहिलेसम्म कति दियो त ?


काठमाडौँ – चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप दिन लागेको जनाएको हो ।

यो सँगै नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ । चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होऊ याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटका क्रममा उक्त जानकारी दिएकी थिइन् । भेटका क्रममा प्रधानमन्त्री देउवाले खोपमा चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

यस अघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ ।