देश

सेनाको नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा


काठमाडौँ – नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कार्यान्वयनमा ल्याएको छ । सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुनर्संरचना शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको छ ।

नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्ड लागू गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा केन्द्रीय कमान्ड लागू गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरेको छ । नयाँ संरचना लागू भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काठमाडौँ उपत्यकाका एउटा गरी आठवटा पृतना शुक्रबार खारेज भएको छ ।

जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ संरचनाको शुभारम्भ गर्दै चारवटै नयाँ केन्द्रीय कमाण्डका कमाण्ड सेनापतिहरूलाई ‘कमाण्ड झण्डा’ हस्तान्तरण गरे।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच, २०८७ लाई आधार मानेर सङ्गठनको पुनर्संरचना गरिएको बताए ।

नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुर्खेत र उपत्यकामा एउटा सैनिक कमाण्ड स्थापना गरिएको छ । उपत्यका कमान्डको मुख्यालय नारायणहिटी परिसरमा कायम गरिएको छ ।

नयाँ कमाण्डको स्थापनासँगै कमाण्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीको मातहतमा गण तथा गुल्म हुनेछन् ।