राजनीति

ओली–माधवको ‘ईगो’ले कार्यदल विघटन (भिडियोसहित)


काठमाडौँ – सत्ता बहिर्गमनपछि पहिलोपटक एमालेस्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । माधव समूह देउवाको पक्षमा उभिने तयारी गरिरहेका बेला एमाले एकताका लागि बनेको कार्यदलसमेत स्थायी कमिटीले विघटन गरेको छ ।
सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि आएको सर्वाेच्चको फैसलापछि एमालेको दुवै पक्ष सहमति कार्यान्वयनको साटो आ–आफ्नो ढंगले अगाडि बढिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गरेका छन् भने नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।

१०बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने भन्दै दोस्रो तहका नेताहरुले पहल लिइरहँदा अध्यक्ष ओलीले शुक्रबार आफ्नो पक्षका नेताहरु मात्र सहभागि बैठकमार्फत विवाद समाधानका लागि बनेको कार्यदल नै विघटन गरेका छन् । ओलीले सत्ता बहिर्गमनपछि पहिलोपटक बोलाएको स्थायी कमिटी बैठकमार्फत कार्यदलको औचित्य सकिएको भन्दै विघटन गरेका हुन् । त्यसबाहेक प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय पनि एमाले स्थायी कमिटीले गरेको छ ।

अदालतको फैसला लगत्तै वरिष्ठ नेता नेपालले गठबन्धनबाट अलग्गीने र पार्टीको संस्थागत निर्णय अनुसार चल्ने संकेत गरेका थिए । तर ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नरहेको घोषणा गरेपछि नेपालले पनि देउवालाई विश्वासको मत दिएर अघि बढ्ने तयारी गरेका छन् ।शुक्रबारको स्थायी कमिटी बैठक चलिरहेका बेला नेपाल पक्षका कार्यदल सदस्य भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पुगेर बैठक रोक्न र १०बुँदे सहमतिअनुसार अघि बढ्न ओलीलाई आग्रह गरेको थिए । तर अध्यक्ष ओलीले बैठक जारी रहने र कार्यसूची अगाडि बढाउने बताएपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए । अब एमाले एकता दुई नेताकै हातमा आइपरेको नेताहरु बताउँछन् ।

१० सदस्यीय कार्यदलले गत असार २७ गते राति एमाले एकताका लागि दश बूँदे सहमति गरेको थियो । तर सहमति गरेकै भोलीपल्ट एमाले सरकार ढलेपछि एकता थप अन्योलमा परेको हो । अहिले ओली पक्षले अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई स्थायी कमिटीको निर्णय मान्न निर्देशन दिएको छ ।