राजनीति

एमालेको नेपाल गुटमा फुटको संकेत : नैतिक संकटमा माधव, अब के हुन्छ ?


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधवकुमार नेपालको हातमा रहेसंगै नेपाल नैतिक संकटमा परेका छन । सरकारलाई साथ दिए पार्टी एकताको सहमती विपरित हुने नदिए नैतिकता विपरित हुने देखिएपछि नेपाल गुटमा फुटको संकेत समेत देखिन थालेका छन । जसको आभास एकै गुटका नेताहरुको फरक अभिव्यक्तीबाट सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई काम चलाउ मै सिमित पार्ने कि बाँकि कार्यकाल चल्न दिने निर्णयको निर्णायक स्थानमा रहेका माधवकुमार नेपाल धर्मसंकटमा परेका छन । संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्ती प्रक्रियामा देउवाको बहुमत नपुगेका भन्दै राष्ट्रपतिले संसद विघटन गरेपछि अदातलमा नेपाल समुह २३ सांसदहरु पनि गएका थिए । देउवाको पक्षमा १४६ सांसद रहेको र उनी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने दाबी गर्न गएका नेपाल पक्षले अहिले आएर विश्वासको मत नदिने संकेत गरेपछि त्यसको आलोचना सुरु भएको हो ।

प्रमाणको रुपमा सर्बोच्चमा उनीहरुको समेत हस्ताक्षरमा बुझाएको र त्यसैको आधारमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका कारण नेपाल पन्छिन नमिल्ने जानकारहरुको भनाई छ । तर एमाले भित्रको विवाद समाधान गर्न बनेको कार्यदलले दश बुँदे सहमती गरेपछि नेपालले संस्थागत निर्णय मान्नुपर्ने वाध्यता आएको छ । यदि नेपालले विश्वासको मत दिए त्यो पार्टी एकता विरुद्ध हुने उनकै गुटका नेताहरुको भनाई छ । एकताका लागि कार्यदलले तयार गरेका निर्णय ओली नेपाल दुबैले मान्नुपर्ने उनीहरुको भनाई छ ।

यद्यपी नेपालका लागि एमालेको ढोका बन्द भईसकेको ओलीले बताईसकेका छन । उनले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई साथ दिने जस्तो पार्टी हित विपरितको काम गरेको र त्यो
कुनैपनि हालतमा क्षमायोग्य नभएको ओलीको भनाई छ । फलत नेपाल सरकारलाई विश्वासको मत दिएर अझ एकताकै विरुद्ध गएको सन्देश दिने पक्षमा देखिँदैनन् । तर संसद पूर्ण कार्यकाल चल्नुपर्नेे बताँउने नेपालले पुन देश चुनावमै जान अवस्था सिर्जना गर्न समेत नैतिकता दिने अवस्था छैन । यहि कारणले धर्मसंकटमा परेका उनीमाथि आफ्नै गुटका नेताको दोहोरो अभिव्यक्तीले थप चिन्ता बढाएको छ ।

किनकि उनको गुटबाट कार्यदलमा रहेकाहरु विश्वासको मत नदिने पक्षमा रहँदा केहि सांसदहरु भने कुनैपनि हालतमा मत दिने पक्षमा देखिएका छन । नेता झपट रावलले सर्वोच्चमै उपस्थित भएर हस्ताक्षर गरेका २३ सांसदहरूविरूद्ध विभिन्न माध्यमबाट भ्रम छर्ने प्रयास भइरहेकोमा खेद जनाएका छन । अदातलको फैसला गलत भएको भन्नेहरुले सांसद पद बाट राजिनामा दिन समेत चुनौती दिएका छन । त्यस्तै नेता मेटमणी चौधरीले देउवा सरकारलाई आफूहरुले कुनै पनि हालतमा विश्वासको मत दिने बताएका छन ।

हुन त ओली गुटमै पनि नेताहरु असन्तुष्ट रहेको संकेतहरु देखिएका छन । यहिबीचमा ओली पक्षीय एक पूर्वमन्त्रीले मन्त्री माग्दै बुढानिलकण्ठ गएको तथा विश्वासको मत दिने वाचा गरेको खबरहरु बाहिरिएका छन ।

अझ नेपाल पक्षका नेताहरुले सिगो पार्टी नै विश्वासको मत दिने बाटोमा आउनुपर्ने र राष्ट्रिय सरकार निर्माण हुनुपर्ने समेत बताईरहेका छन । तर एकै गुट भित्रका नेताहरुको यो फरक अभिव्यक्तिले भने विश्वासको मत कै कारण नेपाल गुटमै पनि फुट हुने निश्चितजस्तै भएको छ ।