राजनीति

एमालेको स्थगित स्थायी कमिटीको बैठक आज बस्दै


काठमाडौँ – असार २९ गते बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएपछि आज बिहान ११ बजे बस्ने भएको छ। यसअघि मंगलबार बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि बैठक सारिएको थियो ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बस्ने तयारी भईरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा ठूलो हलको अभाव भएपछि प्रतिष्ठानको हलमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ । पार्टीको आन्तरिक सहमति कायम गर्नेगरी कार्यदलले गरेको १० बुँदे सहमति अझै बैठकबाट अनुमोदन हुन नसकेकाले आजको बैठकमा कार्यदलको सहमतिले प्रवेश पाउने एमालेको अपेक्षा रहेको छ ।

एमालेले आजै अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक पनि तय गरेको छ । सो अघि स्थायी कमिटीको बैठक आव्हान गरिएको र बैठकमा वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई पनि आमन्त्रित गरिएको स्रोतले जनाएको छ ।

एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।