देश

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै, लुतो फाल्ले दिन पनि आजै


काठमाडौँ – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजै लुतो फाल्ले परम्परा पनि रहेको छ । हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।

साउन महिना शिवजीको र सोमवारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमवार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण आफन्त कहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् ।