राजनीति

पूर्व शिक्षामन्त्री श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गर्न सर्वोच्चको आदेश


काठमाडौँ – पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। ३१ असारमा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश दिएको हो। 

रूपा सुनारले जातीय भेदभावको कसुरमा हिरासतमा रहेर अनुसन्धान गरिरहेको व्यक्तिलाई छुटाएर अनुसन्धान प्रभावित पारेको भन्दै पूर्वमन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट हालेकी थिइन्। जातीय भेदभावको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई मन्त्रीमा बहाल हुँदा कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा छुटाइएको थियो। 

सर्वोच्चले प्रधान कुन निर्णय वा आधारबाट हाजिरी जमानीमा छुटेकी हुन् सोको जानकारी दिन पनि आदेश गरेको छ। त्यसैगरी प्रधानमाथिको अनुसन्धान २५ दिनभित्र पूरा गरी सोको जानकारी दिन पनि सर्वोच्चले आदेश दिएको छ।