राजनीति

शुक्रबार बोलाइएको एमाले संसदीय दलको बैठक रोक्न कार्यदलको माग


काठमाडौँ – पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलका सदस्यहरूले शुक्रवारका लागि बोलाइएको संसदीय दलको बैठक रोक्न माग गरेका छन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमार्फत माधव नेपाल पक्षका कार्यदलका सदस्यहरूले भोलिको बैठक रोकेर स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टी एकता जोगाउन आफूहरू निरन्तर छलफलमा रहेको जानकारी दिए ।

‘१० बुँदे सहमति कार्यान्वयनका लागि हामी कार्यदलका सदस्यहरूबीच निरन्तर संवाद गरेका छौं, सहमति कार्यान्वयनले बैठकको वातावरण बन्छ भन्ने हाम्रो विश्वास छ,’ विष्टले भने ।

संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावल संयोजक रहेको कार्यदलले साउन २७ गते पार्टी विवाद अन्त्य भएको घोषणा गरेका थिए ।

कार्यदलका संयोजकले अध्यक्ष ओली र नेता नेपाललाई प्रतिवेदन बुझाइसकेका छन् तर प्रतिवेदन अनुमोदन हुन सकेको छैन । माधव नेपाल पक्षका सांसदको हस्ताक्षरका कारण सरकार ढलेपछि सहमतिको औचित्य सकिएको संस्थापन पक्षका कतिपय नेताको विश्लेषण छ ।

कार्यदलका सदस्य एवं उपमहासचिव घनश्याम भुसालले पनि भोलिको संसदीय दलको बैठकबारे आफूहरू छलफलमा रहेको बताएका छन् । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि पहिलो पटक एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।

पार्टी सरकारबाट बाहिरिएपछिको अवस्था तथा प्रतिपक्षी भूमिकाबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोट निवास गरेपछि बुधवार ओलीले माधव नेपालले पार्टीमा आत्मालोचना गर्ने ठाउँ नभएको बताएका थिए ।

संसदीय दलको बैठकको अघिल्लो दिन माधव नेपाल र कार्यदलका संयोजक भीम रावलबीच बिहीवार छलफल भएको छ । संस्थापन पक्षका एक नेताले भोलिको बैठक नरोकिने बताए ।