राजनीति

देउवाको दुबै हातमा लड्डु, माधवले धोका दिए पनि घाटा हुँदैन


काठमाडौँ – अदालतको परमादेशबाट निवर्तमान प्रधानमन्त्री केपी ओलीको बहिर्गमनसंगै पाँचौ पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत मुख्य चुनौति बनेको छ । ३० दिनभित्र विश्वासको मत नपाए कामचलाउमा परिणत भएरचुनावी सरकारमा बन्नुपर्नेछ । यो परिस्थितिमा पनि देउवालाई नै फाइदा पुग्ने देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगको घनघोरी लडाईपछि सत्ताको बाघडोर सम्हाल्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अब एउटै सकस छ, बहुमत कसरी प्राप्त गर्ने ?एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदलाई सत्तामा पुग्ने दरिलो भ¥याङ बनाएका देउवाले ३० दिनभित्र विश्वासको मत लिईसक्नु पर्नेछ । तर प्रधानमन्त्रीको दाबी गर्दा समर्थन दिएको माधव पक्षले विश्वासको मत दिने÷नदिनेबारे निक्र्याेल गरेको छैन ।

देउवालाई मत दिदा औपचारिक रुपमै पार्टी विभाजन हुने संकट एकातिर छ भने, नदिदा आफैले बनाएको प्रधानमन्त्री कामचलाउ भएर फेरि ओलीले तय गरेकै मितिमा निर्वाचन हुने अवस्था छ ।बाँकी रहेको १७ महिना नै संसद् चल्ने कि बीचमै निर्वाचनतिर मुलुकलाई लैजाने माधव पक्षको हातमा रहेका बेला कांग्रेसले भने दुबै आफ्ना लागि फाइदाजनक ठानेको छ ।

प्रधानमन्त्री देउवा सकेसम्म माधव पक्षलाई सरकारमा सहभागि बनाएर बहुमत पु¥याउने कसरतमा छन् । यसका लागि देउवाले प्रधानमन्त्री बनेदेखि नै माधव नेपालसंग भेटवार्ता गरिरहेका छन् । बुधबार पनि देउवा नेता नेपाल निवास कोटेश्वर पुगेरसरकारमा सामेल हुन आग्रह गरेका थिए । किनकि देउवालेविश्वासको मत पाए बाँकी रहेको १७ महिना नै सरकार चल्नेछ ।माधव पक्षले धोका दिए प्रतिनिधिसभा विघटन गरेर देउवाकै नेतृत्वमा चुनाव गराउने कांग्रेसको तयारी छ । एमाले, जसपा लगायतका दल आन्तरिक कलहका कारण छिन्नभिन्न बनेको मौका पारि निर्वाचनमा गए पहिलो पार्टी बन्नपाउने लोभ पनि कांग्रेसमा पलाएको छ ।

देउवाले बहुमत नपाए मुलुकलाई निर्वाचनमा जान कसैले रोक्न सक्ने छैन । किनकि देउवानै संविधानको धारा ७६ को व्यवस्था अनुसार अन्तिम विकल्पका प्रधानमन्त्री हुन् ।अहिलेको संसदीय अंकगणितमा नेता नेपालको समर्थनबिना देउवालाई विश्वासको मत पाउने आधार पनि छैन ।त्यसैले आफैंले संघर्ष गरेर ब्युँताएको संसद्लाई बाँकी कार्यकाल टिकाउने कि चुनावी प्रक्रियामाजाने भन्नेमा माधव नेपाल नै निर्णायक मानिएका छन् ।