राजनीति

विप्लव नेता सुदर्शनलाई रिहा गर्न सर्वाेच्चले दियो आदेश


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले सुदर्शनलाई रिहा गर्न आदेश दिएको हो ।

नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेकोे रिटमाथि आज सुनुवाई गर्दै सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, कान्तिराम ढुङ्गानालगायतले रिट निवेदकको पक्षबाट बहस गरेका थिए ।

सर्वोच्चको आदेशमा नेता सुदर्शन रिहा भएका छन् । भने नेता भरत बमको भने थप कागजात झिकाउन आदेश भएको छ । यस्ता अन्य दर्जनौं नेता(कार्यकर्ता देशभरका कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको ३ महिना बित्दा पनि कार्यान्वयन भएको छैन । कार्यान्वन नभएपछि सुदर्शनको रिहाइका लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो ।

ललितपुरस्थित एनसेलको टावरमा बम विस्फोट गराएको आरोपमा सफाइ पाएका सुदर्शनलाई हातहतियारसम्बन्धी र रणवीरलाई बम विस्फोटको मुद्दा लगाइएको थियो ।

मुटुका गम्भीर बिरामी दुवै नेता सुदर्शनको गंगालालमा र रणविरको सुन्धारास्थित कारागार अस्पतालमा उपचार भइरहेको छ ।