राजनीति

शेरबहादुर देउवा सत्तामा हुँदा कार्यकर्ता भने पार्टी केन्द्रीय कार्यालयस्थित धर्नामा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औ महाधिवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय थप जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबी सहित निर्णय सच्याउन माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए ।

उनले सभापतिलाई वाईपास गरेर , नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशिल सदस्यता वितरण गरिएको बताए । उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गरे । उनले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि दिए ।

त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गरे । उनले त्यसबारे सम्बन्धीत् निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।

धनुषाका पुर्व सांसद डाक्टर चन्द्र मोहन यादव लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु बिडम्बनापुर्ण भएको बताए । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नयाँ क्रियाशिल सदस्यता थप्ने काम भएको भन्दै उनीहरु पनि आन्दोलनमा छन् ।

क्रियाशिल सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले असार महिनामा क्रियाशिल सदस्यता वितरणमा देखिएको समस्या निरुपण गरि अन्तिम टुंगो लगाउने बताएको थियो । तर अधिकांश जिल्लामा क्रियाशिल सदस्यता वितरण सम्बन्धमा विवाद चुलिदै गएको छ । दैनिक जसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दैगएको पुष्टि गरेको छ ।