राजनीति

ओली पक्षलाई काउन्टर दिन माधव समूहले पनि गठन गरे ‘अखिल फोर्स’


काठमाडौँ — नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समयमा हेर्ने हो भने एक किसिमको जुहारी नै चलिरहेको छ । एक पक्षले केही गर्याे भने अर्का पक्षले पनि तत्काल नै त्यसै गर्ने प्रवृत्ति देखिएको छ ।


एमाले अध्यक्ष ओली पक्षको युवा संघले युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि बिहीबार अखिल फोर्स गठन गरेको छ । शैक्षिक माफिया र अराजकता मच्चाउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका नेपाल समूहका अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले बताए ।

ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनको भनाई छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको हो । घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिती भने थिएन ।


यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।