राजनीति

अध्यादेशमा जानु दुर्भाग्यपूर्ण रहेको भन्दै एमालेको आपत्ति


काठमाडौँ – कर्णाली प्रदेश सरकारले आजै बजेट अध्यादेशबाट ल्याउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि सरकारले बजेट पारित गर्न अध्यादेशको बाटो रोजेको हो ।

प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन अन्त्य भइसकेको छ । बुधवार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बजेट अधिवेशन अन्त्य गरेका हुन् । बुधवार दिउँसो ३ बजे बसेको प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठकलाई एमालेले कार्यसूचीमा प्रवेश गर्न दिएको थिएन । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि बैठक सुचारु नै हुन सकेन । त्यो बीचमा सर्वदलीय बैठक बसे पनि सहमति जुट्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सर्वदलीय सहमति जुटाउन नसकेपछि आजै बजेट अध्यादेशबाट ल्याउने तयारी भएको सत्तापक्षले जनाएको छ ।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । एमालेको आफ्ना मुख्य दुई माग राख्दै लगातार प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएकाले बजेट माथि छलफल हुन सकेन ।