राजनीति

सांसदहरुको पीसीआर परीक्षण गरिँदै


काठमाडौँ – संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्न लागिएको छ ।

‘संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभा दुवै तर्फका सांसद, मर्यादापालक तथा कर्मचारीको कोरोना परीक्षण गराउने तयारी भइसकेको छ । स्वास्थ्य मन्त्रालयसँग छलफल भएर भोलि एन्टिजेन विधिबाट सबैको कोरोना परीक्षण गर्ने निर्णय भइसकेको छ ।

कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुने पाण्डेको भनाइ छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार एक साताभित्र संसद बैठक बोलाउन आदेश गरेको थियो । साउन तीन गते ५ बजेभित्र बैठक राख्नु पर्ने भएसँगै सरकारले संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको छ ।